काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३, ठूलो आहाल चौरमा स्थानीय नागरिकलाई लक्षित गर्दै निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो।“समृद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सदस्यता अभियान” अन्तर्गत आयोजना हुने शिविरमा आँखासम्बन्धी समस्या भएका सर्वसाधारणले निःशुल्क रूपमा आँखा परीक्षण तथा आवश्यक परामर्श लिन सक्नेछन्।
शिविरमा आँखाको जाँच, दृष्टि परीक्षण तथा आँखासम्बन्धी समस्या पहिचान लगायतका सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ। आवश्यकताअनुसार स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले बिरामीलाई उचित परामर्श र उपचारसम्बन्धी सुझावसमेत दिनेछन्।शिविर ८ गते शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। शिविरको स्थान श्री केदारेश्वर मच्छेनारायण सिद्धिविनायक मन्दिर, ठूलो आहाल चौर, चौरीदेउराली–३, काभ्रेपलाञ्चोक तोकिएको छ।
शिविरको आयोजक जिल्ला सहकारी संघ लिमिटेड (काभ्रे), बनेपा–७, काभ्रे रहेको छ भने सह–आयोजक श्री शैलुङ्गेश्वरी साकोस, चौरीदेउराली–३, काभ्रे रहेको छ। त्यस्तै, शिविरमा प्राविधिक सहयोग रेयुकाई एइको मासुनागा आँखा अस्पताल, बनेपा–६, काभ्रे ले गर्नेछ।ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले आँखाको समस्या भए पनि समयमै विशेषज्ञ सेवा लिन नपाउने अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको यस्तो शिविरबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
शैलुङ्गेश्वरी साकोसको सचिब शिव ढुङ्गेलले आँखामा समस्या भएका तथा नियमित रूपमा आँखाको परीक्षण गराउन चाहने चौरीदेउराली र आसपासका क्षेत्रका नागरिकलाई शिविरमा सहभागी भई निःशुल्क सेवा लिन आग्रह गरेको छ।“आँखाको जाँच गरौँ, दृष्टि बचाऔँ” भन्ने सन्देशसहित सञ्चालन हुने शिविरले समयमै आँखाको समस्या पहिचान गरी दृष्टि संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
-
नेपालभरबाट मनसुन बिदा, दशैंमा घमाइलो मौसमको सम्भावना
-
बूढीगण्डकी नदीमा आएको आस्मिक बाढीका कारण उत्तरी गोरखाको जगत गाउँ नाकाबन्दीमा
-
काठमाडौँ उपत्यकामा ग्यास बिक्री केन्द्र ६ बाट बढाएर ११ पुर्याइयो, बिना शुल्क जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने
-
कांग्रेस महाधिवेशनमा दुई जिल्ला सभापतिको सफलता, पहिलो प्रयासमै केन्द्रमा
-
कलङ्कीमा कुटपिटबाट एक युवकको हत्या