logo

आइतबार, कार्तिक ९ २०८३

Shree Online TV

२०८३ कार्तिक ९ आइतबार

टोकियोमा रास्वपा सांसदसँग प्रवासी नेपालीको अन्तरक्रिया, कान्तो क्षेत्रीय समितिमा विशाल बिके सर्वसम्मत

टोकियोमा रास्वपा सांसदसँग प्रवासी नेपालीको अन्तरक्रिया, कान्तो क्षेत्रीय समितिमा विशाल बिके सर्वसम्मत


  • आइतबार, साउन १७ २०८३

  • प्रवास नेपाली सम्पर्क विभाग जापानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र बसुमाया तामाङसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा विभागको कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्दै विशाल बिकेको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरिएको छ।

    आइतबार टोकियोस्थित चौतारो हलमा आयोजित कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दीपक कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपप्रमुख भोजेन्द्र सुबेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहसचिव फणिन्द्र शर्माले सञ्चालन गरेका थिए।

    कार्यक्रममा प्रवासी नेपाली मञ्चका कुलचन्द्र खरेल, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, विभागका संस्थापक प्रमुख दिलेन्द्रप्रसाद जोशी, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन तथा नेपाली राजदूतावास जापानका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले प्रवासी नेपालीको भूमिका, राष्ट्रिय राजनीति र संगठन सुदृढीकरणका विषयमा धारणा राखेका थिए।

    अन्तरक्रियामा सहभागीले नेपालको समसामयिक राजनीतिक अवस्था, विदेशमा रहेका नेपालीका समस्या, नागरिकता, लगानी, रोजगारी तथा प्रवासी नेपालीको भूमिकासम्बन्धी जिज्ञासा राखेका थिए। सांसद दीपक बोहोरा र बसुमाया तामाङले उठाइएका प्रश्नको जवाफ दिँदै प्रवासी नेपालीका सरोकारलाई संसद् र सरकारसमक्ष प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    यसै अवसरमा सम्पन्न कान्तो क्षेत्रीय समितिको अधिवेशन निर्वाचन समितिका संयोजक तथा विभागका उपप्रमुख भोजेन्द्र सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। निर्वाचन समितिका सदस्य रामु खरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सदस्य सचिव फणिन्द्र शर्मा सुबेदीले बन्दसत्र सञ्चालन गरेका थिए।

    अधिवेशनमा विभागका प्रमुख दीपक कार्की, प्रवक्ता अरमान गुरुङ तथा सचिवालय सदस्य कमला काप्रीले नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिएका थिए। निर्वाचन समितिका संयोजक सुबेदीले निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए भने सांसद बसुमाया तामाङले प्रमाणपत्र वितरण गरेकी थिइन्।

    अधिवेशनबाट विशाल बिकेको अध्यक्षतामा प्रवास नेपाली सम्पर्क विभाग जापानको कान्तो क्षेत्रीय समिति (२०२६–२०२८) सर्वसम्मत रूपमा चयन भएको छ। समितिको उपाध्यक्षमा रमेशराज भट्ट, सचिवमा संगम बाबु अङ्गाई, कोषाध्यक्षमा सिजन लम्साल, प्रवक्तामा शिवहरि परियार तथा युवा संयोजकमा उदय गुरुङ चयन भएका छन्।

    त्यसैगरी सदस्यमा सरिता कँडेल, प्रविण जंग थापा, रमेश आचार्य (प्रविण), विश्वप्रताप बुढा, ज्ञानु पौडेल चालिसे, सन्दीप सुबेदी, कुशल भण्डारी, विष्णु थापा, प्रेम शर्मा, टोपलाल गौतम, सञ्जय सहानी, निर्मल चन्द र गोपालप्रसाद कँडेल चयन भएका छन्।

    नवनिर्वाचित समितिले जापानमा रहेका नेपाली समुदायबीच संगठन विस्तार, प्रवासी नेपालीका साझा हितका विषयमा आवाज उठाउने तथा नेपालको लोकतान्त्रिक राजनीतिक प्रक्रियामा रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to shreeonlinetv.com Site By :TriTech